पार्चमेन्टको सफाई फर्मेन्टेशन पछि पार्चमेन्टलाई ४ देखि ५ पटक सफा पानीले चिप्लो पदार्थ (म्यूसिलेज) नरहने गरी पखाल्नु पर्छ । चिप्लो बाँकि रहेमा, दाना कुहिने र दागहरु बस्ने समस्या आउन सक्छ । पखाल्दा खेरि पानी माथि तैरिएका हल्का पार्चमेन्टहरु हटाउनु पर्दछ । पार्चमेन्ट धोएको पानी खानेपानीको श्रोतमा नमिसिने गरी छुट्टै ठाउंँमा फ्याक्नुपर्दछ । पानी कम भएको ठाउँमा ५ वटा प्लाष्टिकका बाल्टिन प्रयोग गर्न सकिन्छ । एउटा बाल्टिनको पिँध एवं वरिपरी मसिना प्वाल पारी त्यसमा फर्मेन्ट भएको पार्चमेन्ट राख्नुपर्छ । अर्को बाल्टिनमा आधा भाग सम्म सफा पानी भरी प्वाल पारेको पार्चमेन्ट भएको बाल्टिनलाई पानी राखेको बाल्टिनभित्र राख्नु पर्छ र दायाँ बायाँ हल्लाउनु पर्छ जसले गर्दा सडेको चिप्लो पदार्थ पार्चमेन्टबाट पानीमा जान्छ । अब प्वाल पारेको पार्चमेन्टको बाल्टिनमा त्यसैगरी डुबाई चलाउने र सफा गर्नुपर्छ । एवंरितले पार्चमेन्टको बाल्टिनलाई तेस्रो र चौथो बाल्टिनमा डुबाई सफा गर्दा पार्चमेन्ट पुर्णरुपले सफा हुन्छ । पहिलो पटक धोएको पानी धेरै फोहर भएमा फाल्नु पर्छ । दोश्रो पटक धोएको बाल्टिनको पानीमा अर्को खेप पार्चमेन्ट धुँदा पहिलो पटक प्रयोग गर्न सकिन्छ । त्यसैगरि तेश्रो बाल्टिनमा दोश्रो धुलाई गर्ने, चौथो बाल्टिनमा तेश्रो धुलाइ गर्नुपर्छ । एवंरितले अरु खेपको पार्चमेन्ट धुने र सुकाउने गर्नुपर्छ ।
