गहिरो रोपणबाट हुने समस्या र व्यवस्थापन
कफीको बेर्ना प्लाष्टिक ब्यागमा जति माटोले पुरेको छ त्यति नै माटोले छोपी रोप्नु पर्छ । तर रोप्ने तरिकाको ज्ञानको अभावले गर्दा र कफी रोप्ने खाडल उपयुक्त प्रबिधी अनुसार तयार नपार्दा रोपीसके पछि माटो दबेर रोपेको बेर्ना चाहिने भन्दा बढी माटोले पुरिन्छ । यसले गर्दा डाँठ/जरा कुहेर बेर्ना मर्दछ । कफी र रोप्ने खाडल मल माटो मिलाई एक महिना पहिले पुरी राखेको खाल्डोमा बिरुवा रोपेमा बेर्ना मर्ने समस्या धेरै घटाउन सकिन्छ ।
छहारीको कमी बाट हुने समस्या र व्यवस्थापन
कफीमा छहारी नभएमा वा छहारीको कमी भएको खण्डमा सेतो गबारोको आक्रमण बढी हुन्छ । यसको साथ साथै कफीको पातहरु तथा फलमा पनि सूर्यको प्रकाशले गर्दा पात तथा फलको बोक्रा डढ्ने समस्या हुन्छ । छहारीको कमीबाट हुने समस्या न्युन गर्न कफी लगाउदाँ छहारी भएको ठाँउमा लगाउनु पर्छ । यदि छहारी छैन भने कफी लगाउन भन्दा एक वर्ष पहिले छहारीको वोट लगाउनुपर्छ । यसका साथै विरुवा रापेको वर्ष तुषारोबाट बचाउन अस्थाई छहारीको व्यवस्था गर्नुपर्छ ।
निकासको कमी बाट हुने समस्या र व्यवस्थापन
भिरालो जग्गामा कफी लगाउँदा माटोमा चिस्यानको मात्रा बढी हुने समस्या आउने सम्भावना कम हुन्छ । तर समतल गरामा कफी लगाउँदा निकासको राम्रो प्रबन्ध नभएमा माटोमा चिस्यान बढी भई जरा कुहिएर बोट नबढ्ने तथा मर्ने सम्भावना हुन सक्छ । यो समस्या आउन नदिन कफी लगाउदाँ निकासको रामा्रे व्यवस्था गर्नु पर्छ ।
