विरूवा लगाउने समयमा खाडल पुर्दा गाडेको किला उखलेर त्यसमा बिरूवाको गोला अटाउने खाल्टो बनाउनु पर्छ । पोली ब्यागबाट विरूवा निकाल्दा गोला नफुटाई निकाल्ने र गोला सहित खाल्टोमा राखी पुर्नुपर्छ । पुर्ने क्रममा प्लाष्टिक थैलामा जहाँसम्म माटोले ढाकेको थियो त्यति भाग मात्र विरूवा लगाउँदा पुर्नुपर्छ । कम पुरे विरूवा सुक्ने र बढी पुरे डाँठ कुहिने डर हुन्छ । खाडल ताजा घाँसपात राखी तत्काल पुरेको हुनु हुँदैन । यस्तो घाँसपात सड्दा निस्कने तातोले विरूवाको जरा जलाउने र त्यहाँ रहेको हावाले सुकाउन सक्छ । विरूवा रोपेको फेद वरिपरिको माटो बसेर दब्ने र पानी जम्ने सम्भावना रहने भएकाले जमिन सतह भन्दा १०— १५ ईन्च अग्लो हुने गरी माटो उठाउनु पर्छ । बिरूवाको मूल जरा चुडिएको, बाङ्गो भई बटारिएको, मसिनो डाँठ भै अल्गिएको र अस्वस्थ विरूवा सार्नु हुँदैन । बेजात देखिने र बोट मुनि आफैं उम्रिएका विरूवा पनि सार्नु हुँदैन, यस्ता विरूवाबाट गुणस्तरहिन फल उत्पादन हुन्छ ।